लगानी बोर्डले चार वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बोर्डको ५५ औँ बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हाे ।
लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २ सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोलमा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।
बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
यसका अतिरिक्त, बोर्डको बैठकले Green Calcium Ammonium Nitrate –(CAN) Fertilizer Factory स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित reNIKOLA Sdn. Bhd. सँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।
बैठकमा बोर्डका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको परियोजना लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन/विश्लेषण गर्न निर्देशन दिनुभयो ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न, आवश्यक समन्वय प्रगाढ बनाउन, लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई निर्देशन दिनुभयो ।