हेटाैंडा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तराई मधेशमा धार्मिक ऐतिहासिक तथा सांस्कृतिक महत्वका धरोहरहरुको संरक्षण र सम्बद्र्धन गर्न केन्द्र प्रदेश र स्थानिय सरकार बीच सहकार्य हुनु पर्ने कुरामा जोड दिनुभएको छ ।

बाराको महागढीमाई नगरपालिकामा शुरु भएको पञ्चवर्षिय गढीमाई मेलाको स्थलगत अवलोकनपछि आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले पञ्चवर्षिय गढीमाई मेलाले धार्मिक पर्यटन भित्र्याउन महत्वपूर्ण योगदान पुर्याउने हुँदा मेलालाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले पर्यटन बर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना हुन गई रहेको गढीमाई पञ्चवर्षिय मेलामा लाखौं भारतीय नागरिक दर्शनका लागि आउने हुँदा उनिहरुको आगमनलाई सहज बनाउन सम्बन्धित निकाय जुटनु पर्ने बताउनुभयो ।

यस अघि आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ऐतिहासिक घरोहरको रुपमा रहेको सिम्रौनगढकोसमेत स्थलगत अवलोकन गर्नु भएको थियो ।

कार्यक्रममा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल लगायतको सहभागिता रहेको थियो ।

गढीमाई पञ्चवर्षिय मेलाको अवस्थाकाबारे आज मेला आयोजना मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी भारतीय दर्शनार्थीहरुको सहज आगमनको लागि सिमा क्षेत्रमा नै सवारी साधनको इन्ट्रीको व्यवस्था मिलाईएको जनाएको छ ।

मेला आयोजक मुल व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बीरगंज, मटिअर्वा, सिम्रौनगढ, गौरलगायतका नाकाहरुबाट भित्रिने भारतीय दर्शनार्थीहरुलाई सम्बन्धित नाकामा नै सवारी साधनको इन्ट्रीको व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मेलामा सहभागीहरुको सुविधाका लागि खानेपानी, शौचालय, प्राथमिक उपचारका साथै आवश्यक सुरक्षाको सबै प्रबन्ध मिलाईएको नगर प्रमुख यादवले बताउनुभयो ।

रेडियो नेपाल