काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सबैको जोडवल आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट ‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सवैको साझा प्रयास र योगदानबाट नै राजइ बलियो र समृद्ध बन्न सक्ने स्पष्ट पार्नुभयो ।
उहाँले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो गर्दै विकास निर्माणका काम समयमा नै सम्पन्न गरेर फाइदा लिनेतर्फ अग्रसर हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय हितका आयोजना सम्पन्न गर्न हामी आफै लाग्नुपर्ने भएकाले नियम अनुसारको मुआब्जा तथा क्षतिपूर्ति लिनेतर्फ आम नागरिक लाग्नुपर्ने बताउनुभयो । उहाँले मुलुक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढिरहेकाले समृद्धिको यात्रामा सघाउन सवैलाई आग्रह गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमता रहेकोे आयोजनाको प्रविधिको प्रयोग गरेर प्रधानमन्त्रीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजना स्थल नुवाकोटको किस्पाङ गाँउपालिकाको सिम्लेबाट एकसाथ उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाका निर्माण व्यवसायी एवं सम्पूर्ण श्रमिकलाई समेत धन्यवाद दिनुभयो ।