file photo

काठमाडौं – नेकपा (एमाले) का नेता माधवकुमार नेपाल पक्षका युवा नेता जीवन राईले युवाहरूको वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यसाथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन पेश गरेको बताउनुभएको छ । नेता राईले गत वैशाख ७ गते नै आयोगमा प्रक्रिया पु¥याएर पार्टी दर्ताको निवेदन पेश गरिएको भए पनि दर्ता प्रमाणपत्र हात लाग्न बाँकी रहेको बताउनुभयो ।
संखुवासभा निवासी राईले आफ्नो नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कमिटीको नामसहित कागजपत्र आयोगमा पेश गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुुसार केन्द्रीय पदाधिकारीमा उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद दुलाल, सचिव ऐनविक्रम कुँवर, कोषाध्यक्षमा सुशील खनालको नाम प्रस्ताव गरिएको छ । यसअघि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को केन्द्रीय अनुशासन आयोगका अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएका युवा नेता राई अहिले पार्टी समीकरणमा नेता नेपाल पक्षमा आबद्ध हुनुहुन्छ ।
आफूले दर्ताका लागि निवेदन दिएको पार्टी गठनमा नेता नेपालको कुनै संलग्नता र सहयोग नरहेको राईले दावी गर्नुभयो । निर्वाचन आयोगले ढिलोमा ४५ दिनपछि दर्ता प्रमाणपत्र प्राप्त हुने आफूलाई जानकारी दिएको राईले बताउनुभयो । आजसम्म ३२ दिन पूरा भए पनि दर्ता प्रक्रियाको काम भइरहेको आफूले जानकारी पाएको उहाँले बताउनुभयो । नेता राईले पार्टीको निर्वाचन चिन्ह ‘कलम’ राख्नुभएको छ ।
यसअघि बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेता नेपालको पक्षबाट उम्मेदवार बन्नुभएका डा. खिमलाल देवकोटाको पनि चुनाव चिन्ह ‘कलम’ थियो । देवकोटाले एमालेका नेता रामबहादुर थापा बादललाई पराजित गरी निर्वाचित हुनुभएको थियो । तर डा. देवकोटाको चुनाव चिन्ह कलम हुनु र आफ्नो प्रस्तावित दलको चुनाव चिन्ह कलम हुनु संयोग मात्र भएको राईले दावी गर्नुभयो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि आयोगमा निवेदन आए पनि प्रक्रियामा रहेको जानकारी दिनुभयो । आवश्यक कागजातको चेकजाँचपछि प्रक्रिया पुगेमा दल दर्ता हुने उहाँले बताउनुभयो ।