नाइजेरियाका सैन्य प्रमुख, लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको विमान दुर्घटनामा मृत्यु भएको छ । नाइजेरियाको पश्चिमी राज्य कदुनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको बीबीसीले उल्लेख गरेको छ ।
सैन्य अधिकारीहरुका अनुसार प्रतिकूल मौसममा विमान अवतरणको क्रममा दुर्घटना भएको हो । दुर्घटनामा विमानको चालक दलका सदस्यसहित दशजनाको मृत्यु भएको छ । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनाबाट अत्यन्त दुखित भएको बताउनुभएको छ । ५४ वर्षीय अत्ताहिरु गत् जनवरीमा मात्रै नाइजेरियाका सैन्य प्रमुखको जिम्मेवारीमा नियुक्ति पाउनुभएको थियो । नाइजेरियाको राजधानी अबुजास्थित विमानस्थलमा एक सैन्य विमान दुर्घटना भई सातजनाको मृत्यु भएको तीन महिनापछि अर्को सैन्य विमान दुर्घटना भएको हो ।