मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाले एकसाथ ५ वटा पुल निमार्णका लागि निर्माण कम्पनीसंग सम्झौता गरेको छ । पुल अभावका कारण आवतजावतमा समस्या झेल्दै आएका स्थानीय बासिन्दाका लागि गाउँपालिकाको ३३ करोडको लागतमा पाँचवटा पक्की पुल निर्माणका लागि मंगलबार निर्माण कम्प्नीसंग सम्झौता गरेको हो ।
मनहरि गाउँपालिका तथा पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबीच मंगलबार सम्झौता भएको गाउँपालिकाले जनाएको छ । विभिन्न चार स्थानमा पुलको निर्माण गर्न हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणका लागि भैरवनारायण जेभीलाई ठेक्का दिइएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिकाको लागि टार र वडा नम्बर ४ को टुग्रा जोड्ने पुल, वडा नम्बर ४ को गोलघर र वडा नम्बर ३ को मिलडाँडा जोडने पुल र कालिदमार जोड्ने पुल तथा वडा नं १ र २ लाई जोडने गरी पक्की पुल निर्माण हुन लागेको अध्यक्ष उप्रेतीले बताउनुभयो । हाँडीखोला क्षेत्रमा खोला तथा खहरेमा पुल अभावको समस्या भोग्दै आएको त्यस क्षेत्रमा २४ महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ती पुलको निर्माणपछि मनहरि गाउँपालिका–१ र २ का बासिन्दालाई हेटौंडा उपमहानगरपालिका भएर मनहरि गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष उप्रेतीको भनाइ छ ।