मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले २०७२ सालको भुकम्पपछिको पुनर्निर्माणले समुदायमा प्रविधिमैत्री, बलीयो र सुरक्षित भवन निर्माण गर्नुपर्छ भन्ने चेतना फैलिएको बताउनुभएको छ । गोरखा भुकम्प गएको छैठौं स्मरण दिवशका अवसरमा हेटौंडामा आयोजित गोरखा भुकम्पपछिको पुनर्निर्माण र यसबाट उत्थानशिल समाज निर्माणमा पुगेको योगदान विषयक अन्तरक्रीया कार्यक्रममा उहाँले भुकम्पले थुप्रै धनजनको क्षति भएपनि त्यसपछिको पुनर्निर्माणले बलीयो र सुरक्षित आवास निर्माण गर्नुपर्छ भन्ने सकारात्मक सन्देश फैलिएको बताउनुभयो ।

प्रमुख खुलालले भुकम्पपछि भईरहेको पुनर्निमार्णले भौतिक संरचनाहरु बलीयो, सरक्षित र प्रविधिमैत्री हुनुपर्छ भन्ने धेरै ठुलो शिक्षा दिएको बताउनुभयो । २०७२ सालको भुकम्पले भवन तथा घरहरु कसरी सुरक्षित बलिया बनाउन सकिन्छ भन्ने कुरा सिकाएको भन्दै उहाँले यी कुराहरुलाई आत्मसात गर्दै र भुकम्प बारे जनचेतना सबै माझ पु¥याउन समेत जरुरी रहेको बताउनुभयो । उहाँले जिल्लाको पुनर्निर्माणको कार्य सन्तोषजनकनै रहेको भन्दै उहाँले बनेका संरचनाहरुको संरक्षणका लागि स्थानीय तहहरुले योजना बनाउनुपर्ने समेत बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वायन इकाई मकवानपुरको आयोजानमा भएकाे कार्यक्रममा जिल्लामा भुकम्पपछिको पुनर्निर्माण कार्यको प्रगति समिक्षा समेत प्रस्तुत गरिएको थियो । जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वधार मकवानपुरका तथ्याङ अनुसार त्यो बेला पहिचान भएका निजि निवास पुनर्निर्माण लाभग्राही संख्या ३७ हजार ७ सय ५२ रहेको थियो । जसमा अनुदान सम्झौता गरेका पुनर्निर्माण लाभग्राही संख्या ३५ हजार ७३ रहेको कार्यालयको तथ्याङमा उल्लेख छ । सम्झौता हुन नसकेका पुनर्निर्माण लाभग्राही संख्या दुईहजार छ सय ७३ रहेकोमा प्रथम किस्ता प्राप्त गर्ने पुनर्निर्माण लाभग्राही संख्या ३५ हजार ३२ रहेको छ । घर निर्माण गर्न सुरु गरेका लाभग्राही संख्या ३३ हजार पाँचसय रहेको छ । दोस्रो किस्ता प्राप्त गर्ने पुनर्निर्माण लाभग्राही संख्या दुईहजार ५९ रहेको छ भने, तेस्रो किस्ता प्राप्त गर्ने पुनर्निर्माण लाभग्राही संख्या २३ हजार नौसय ७२ रहेका छन् । हालसम्म घर निर्माण सम्पन्न गरेका लाभग्राही संख्या २२ हजार एकसय ५ रहेको लगायत अन्य प्रगती समिक्षामा प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी लगायत भुकम्पसंग सम्बन्धीत कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।