शुक्रबार बिहान देशका धेरै ठाउँको मौसम बदली भएको छ । दिउँसोपछि धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रि मनसुन कायमै रहेकाे र स्थानीय वायुसँगै बंगालकाे खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
उहाँका अनुसार बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना छ । नेपालमा मनसुनी गतिविधि भने अझै सक्रिय भइनसकेको उहाँले बताउनुभयो । नेपालमा जुन १० तारिखमा मनसुन प्रवेश गर्नुपर्ने भए पनि यसपाला ढिलो भएको हो । दुई वर्षअघि जुन १० तारख अगावै भित्रिएको मनसुन पोहोर भने ढिलो गरी भित्रिएको थियो ।