फाइल-फोटो

हेटौडा- ३ नम्बर प्रदेशमा लोकसेवा आयोगको गठन गर्ने बाटो खुलेको छ । मंगलबार “प्रदेश लोकसेवा आयोगको गठन, काम , कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्व सम्मतले पारित भए सँगै आयोग गठनको बाटो खुलेको हो ।
विधेयकमा ८ जनाले संसोधन प्रस्ताव राख्नुभएको थियो । विधयेक माथि दफावार छलफल सकेर प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदनको निर्णय सहित मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा “प्रदेश लोकसेवा आयोगको गठन, काम , कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्व सम्मतले पारित भएको हो ।
यसैबिच प्रदेश ३ का नेपाली कांग्रेसका सांसदहरुले भने विधेयकको प्रतिवेदन माथिको छलफलमा बोल्दै लोकसेवा आयोग गठन सम्बन्धी विधेयकमा पर्याप्त छलफल नभएको बताउनुभएको छ । कांग्रेस सांसदहरु न्हुच्छे नारायण श्रेष्ठ र नरोत्तम वैद्यले पर्याप्त छलफलको लागि समय नदिएको बताउनुभएको थियो । जवाफमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिपक्ष भएकोले मात्रै विरोधको लागि विरोध नगर्न आग्रह गर्दै प्रजातन्त्रिक ढङ्गले पर्याप्त समय र छलफल गरेर विधेयक ल्याएको बताउनुभयो । उहाँले प्रदेश सरकारले छिट्टै निजामती कर्मचारी ऐन ल्याएर सरकारलाई तिव्रता दिने समेत बताउनुभएको छ । आफुमा दुई तिहाईको दम्भ कहिले नभएको भन्दै प्रतिपक्षको रचनात्मक सहयोगको अपेक्षा गरेको समेत मुख्यमनत्री पौडेलले बताउनुभएको छ ।

मंगलबारको बैठकमा दुईवटा विधेयक पेश

३ नम्बर प्रदेशको मंगलबारको प्रदेश सभा बैठकमा दुईवटा विधेयक पेश भएका छन् । बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले “सरकारी नीजि सहकारी साझेदारी सम्बन्धमा बनेको विधेयक”को समितिको प्रतिवेदन संसदमा पेश गर्नुभएको छ । भने उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले “प्रदेश भित्र औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको विधेयक”को पनि प्रतिवेदन पेश गर्नुभएको छ । दुवै विधेयकको बुधबार प्रतिवेदन सहित छलफल भएर पास गर्ने तयारी गरिएको छ ।