हेटौंडा– ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेले प्रदेश राजधानीको विषय अब प्रदेश सभामा उठाउनु नपर्ने बताउनुभएको छ । प्रदेशसभाको मंगलबारको विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मूख्यमन्त्री पौडेलले प्रदेशको राजधानी र नामको विषयमा अब संसदमा प्रश्न उठाउने अवस्था नआउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले राजधानीको विषय लाजमर्दो अवस्था आएको भन्दै प्रश्न उठाउनुभएको थियो ।
मंगलबारको बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले कामको गति बढाएको दावि गर्दै अप्ठ्यारो चरण पार गरिसकेकोले अब विकासले अझ गति लिने बताउनुभएको छ । उहाँले प्राकृतिक विपदमा जनधनको क्षति भएकाहरुलाई राहत उपलव्ध गराउने काम भईरहेको जानकारी दिंदै अवरुद्ध सडकहरु सुचारु गराउन प्रत्येक जिल्लालाई एक करोड रुपैँयाको दरले निकासा भएको दावि गर्नुभएको छ ।