काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह नराखिएको बताउनु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहुनभएका मन्त्री बाँस्कोटाले ललिता निवासको जग्गाका विषयमा अदातमा प्रक्रिया सुरु भएकाले अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम हुने र अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारमाथि राजनैतिक प्रतिशोधका आधारमा मुद्दा नचलाइएको प्रष्ट गर्नुभयो । व्यक्तिका नाममा रहेको सरकारी जग्गा फिर्ताल्याउन सरकार निरन्तर लागि रहेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले पछिल्लो समय तराई क्षेत्रमा मात्र झण्डै पाँच सय विगाह जग्गा फिर्ता ल्याइएको जानकारी दिनुभयो । एक प्रश्नमा मन्त्री बाँस्कोटाले कोरोना भाइरको संक्रमणका विषयमा सरकार गम्भिर रहेको बताउनुभयो । सञ्चार मन्त्री बाँस्कोटाले चीनमा रहेका नेपालीहरू सुरक्षित रहेका र नेपाल ल्याउनका लागि सरकारले तयारी तिव्र रूपमा गरिरहेको बताउनुभयो । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित विभिन्न नाकाहरूमा रहेका स्वास्थ्यकर्मीलाई नेपाल प्रवेश गर्ने कुनै यात्रुलाई कोरोना भाइरस लागेको शंका लागेमा भाइरस फैलन नदिन आवश्यक व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयले तोकेको अस्पताल तथा स्थानमा राख्ने प्रयोजनका लागि आदेश जारी गरेको छ ।