मकवानपुर– बागमती प्रदेशको प्रदेशसभा बैठकले शुक्रबार एउटा विधेयक पारित गरेको छ भने अर्को विधेयक छलफलका लागि समितिमा पठाएको छ । बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पेश गरेको प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
यसअघि विधेयकमाथिको दफावार छलफलमा सांसद बुद्धिमान माझीले विधेयकमा रहेको ३ नम्बर प्रदेशलाई बागमती प्रदेश बनाउन सुझाव दिनुभएको थियो । त्यस्तै, सांसदहरु छिरिङ्ग दोर्जे लामा र रमेश पौडेलले माईन्युट बन्दमा हस्ताक्षर गर्ने काम २ सदस्य र सदस्य सचिवलाई दिएको बारे प्रश्न गर्नुभउको थियो । आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री लामाले संशोधन विधेयक धेरै अघि तयार भएकाले ३ नम्बर प्रदेश भएको भन्दै बागमती प्रदेश बनाईने बताउनुभयो, भने माईन्युट बन्द गर्ने उपाध्यक्षको नियुक्ति नभएकाले यो व्यवस्था गरिएको बताउनुभयो ।
त्यस्तै आजको बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले पेश गर्नुभएको प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाउने निर्णय भएको छ । दफावार छलफलका लागि विधेयक प्रदेश मामिला समितिमा पठाईएको प्रदेश सभा सचिवालयले जनाएको छ ।