मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । यहि जेठ २४ गते ३ बर्षे कार्यकालका लागि अध्यक्ष नियुक्त हुनुभएका भण्डारीले बुधबार पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्नुहुँदै कर्मचारी, मजदुर, सरोकारवाला पक्षको साथ र सहयोगमा उद्योगलाई सुचारु गर्ने र प्रतिस्पर्धी बजारमा उद्योगलाई सशक्तरुपमा स्थापित गर्ने भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्योग नजिकै रहेर आफूले उद्योगको विषयमा धेरै कुरा जानकारी लिएको उल्लेख गर्नुहुँदै उद्योग समस्यामा पर्नुका कारण पहिचान गरेर सुधार गर्नुपर्ने पक्षका विषयमा अध्ययन गरेर अगाडि बढ्ने बताउनुभयो । अल्पकालिन र दीर्घकालिन सोँचका साथ काम गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक बसन्त कुमार पाण्डेले कमजोर अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग सन्चालनको योजनाको प्रस्ताव मन्त्रालयमा पुगेको जानकारी गराउनुभयो । सेवानिवृत्त कर्मचारीको भुक्तानी हुन नसकेको, नियमित सन्चालनमा पनि समस्या रहेको बताउनुहुँदै महाप्रबन्धक पाण्डेले मन्त्रालयका सचिव, मन्त्री र प्रधानमन्त्रीसम्म समस्या समाधानको लागि पहल भइरहेको जानकारी गराउनुभयो ।
उद्योग सञ्चालक समितिका सदस्य दिपेश कुमार शाहीले चुनौतिका चांगका बीचमा नयाँ अध्यक्ष नियुक्त हुनुभएको जानकारी गराउनुहुँदै चुनौतिका बाबजुद अवसर पनि रहेको बताउनुभयो । चालु पुँजीको अभाव नै उद्योगको प्रमुख समस्या भएको जीकिर गर्नुहुँदै नवनियुक्त अध्यक्ष स्थानीय समेत हुनुले उद्योगले पुनर्जीवन पाउनेमा उहाँ आशावादी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका पूर्वअध्यक्ष श्रीधर पोखरेल, संविधान सभा सदस्य अनन्त प्रसाद पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका निवर्तमान अध्यक्ष रघुनाथ खुलाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईलगायतले हेटौँडाको गौरवको रुपमा रहेको सिमेन्ट उद्योगलाई जीवितै राख्न, नियमित सन्चालन गर्न सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले कुनै बेला नाफामा गएको सिमेन्ट उद्योगलाई सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । पदस्थापन कार्यक्रममा उद्योगका मजदुर, कर्मचारीलगायतको उपस्थिती थियो ।