मकवानपुर – नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा सरकारको नेतृत्व तत्काल नछोड्ने भएको छ । बागमती प्रदेशका तीन जना नेताहरुले गरेको लिखित सहमति प्रदेश स्तरबाट कार्यान्वयन नगरिने भएको हो ।
सत्ता गठबन्धनमा रहेका केन्द्रका नेताहरुको गठबन्धनको बैठकले मात्र बागमती प्रदेशमा मुख्यमन्त्री फेर्न सक्ने एकीकृत समाजवादी बागमती सचेतक मुनु सिग्दलले बताउनुभयो । प्रदेश सरकार परिवर्तनको कुरा केन्द्रका नेताहरुको गठबन्धनको बैठकबाट मात्र गर्न सकिने भएकाले प्रदेश स्तरमा भएको निर्णयको कुनै अर्थ नै नभएको सिग्देलले बताउनुभयो । आज काठमाण्डौस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठकपछि यस्तो निर्णय भएको उहाँले बताउनुभयो । बैठकमा तत्काल सरकारको नेतृत्व नछाड्ने गरी कुरा अघि बढेको अर्का एक सांसदले बताए ।
पहिले प्रदेश सरकारमा गठबन्धनले पालै पालो नेतृत्व गर्ने भनिएको थियो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, आर्थिक मामिला मन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल र नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सँगको लिखित सहमति अनुसार आलो पालो गर्ने भनिएको थियो । तर, यो सहमति अब भने कार्यान्वयन नगर्ने र केन्द्रमा गठबन्धनको बैठकको निर्णय अनुसार मात्र कार्यान्वयन गरिने भएको हो ।
नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारमा आधा–आधा कार्यकाल सञ्चालन गर्ने सहमति पालना नगर्ने भएको छ । एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय लिएसँगै कांग्रेससँगको सहमति पालना नहुने भएको हो । ‘यो विषय टुंगो लगाउन गठबन्धनका शीर्ष नेतृत्वलाई जिम्मा दिइएको छ’ सिग्दलले भन्नुभयो । बागमती मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्नेगरी नेपाली कांग्रेससँग गत कात्तिक पहिलो हप्ता सरकारमा जानुअघि सहमति गर्नु भएको थियो । कांग्रेसले सहमति कार्यान्वयनका निम्ति निरन्तर दबाब सिर्जना गरिरहेको छ । कांग्रेसको साथमा नेकपा माओवादी केन्द्र पनि छ ।
मुख्यमन्त्री पाण्डेलाई यस प्रदेशको मुख्यमन्त्री हटाउँदा समाजवादीलाई अर्को कुनै प्रदेशमा मुख्यमन्त्री दिनुपर्ने हुन्छ । बागमती प्रदेशमा मुख्यमन्त्रीसँगै सरकार नै परिवर्तन हुने हुँदा अरु प्रदेशमा पनि सरकारको नेतृत्व परिवर्तन हुने देखिन्छ । समाजवादीले बागमती छोड्नुपर्दा कांग्रेसले अरु प्रदेशमा छोड्नुपर्ने हुँदा मुख्यमन्त्री परिवर्तन भइहाल्ने अवस्था भने छैन । पाण्डेको सरकारका विरुद्धमा काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले गरेको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने भने पनि तत्काल त्यो हस्ताक्षर बुझाइ नहाल्ने र सहमतिबाट मात्र मुख्यमन्त्री परिवर्तन हुने माओवादीका सांसदहरु बताउँछन् ।
बागमती प्रदेशसभामा कुल १ सय ७ जना सांसद छन् । सरकार निर्माण गर्न कम्तीमा ५४ जना सांसद हुनुपर्दछ । प्रदेशसभामा माओवादी २३, नेपाली काँग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाको एकसहित ५९ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४१, विवेकशील दलसँग ३, राप्रपा र नेमकिपाका २/२ जना सांसद छन् ।