पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ । अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नु भयो । उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिनु भयो ।
महासंघले शनिबार पाटनको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोशसमेत व्यक्त गर्नु भयो । उहाँले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दबाब दिनुपर्नेतर्फ सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘मल पाउँदैन, तपाईँहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ । मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई । दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो ? पिर्कामा सलामी खानका लागि मन्त्री बनाएको हो ? होईन नि ।’
अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्ब चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताउनु भयो । अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढि जनसंख्या कृषिमा आधारित भएको देशमा हामी किन खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।