हेटौँडा । बागमती प्रदेशकाे नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गंगादत्त नेपाल नियुक्त हुनु भएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयाे ।

बैठकले आयोगका सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गरेकाे छ । श्रेष्ठ यसअघि पनि आयोगकाे सदस्य हुनु हुन्थ्याे । यस्तै बैठकले प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरेकाे छ । समाजिक विकास मन्त्रालयको प्रस्तावमा खेलकुद मन्त्रालयको स्वीकृतिमा उहाँलाई नियुक्त गरिएकाे मन्त्री लामिछानेले जानकारी दिनुभयाे । सामाजिक विकास मन्त्रालय विभाजन गरी खेलकुद मन्त्रालय कायम भए पनि कानुनी अड्चनका कारण सदस्य–सचिव नियुक्तिमा समस्या हुँदै आइरहेको थियो ।

बैठकले श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति नहुँदा अघिल्लो बैठकमा यो एजेन्डा रोकिएको थियो । यसका साथै बुधबारको मन्त्रिपरिषद्को वैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।