मकवानपुर– बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको मुख्य काम कानुन निर्माण गर्ने भएपनि प्रदेशसभा सदसयहरुले चासो नदिँदा आवश्यक कानुन निर्माण हुन नसकेको बताउनुभएको छ । बागमती प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयको तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख श्रेष्ठले प्रदेशसभा सदस्यहरुको वेवास्ताका कारण कानुन निर्माणको काम प्राथमिकतामा नपरेको बताउनुभयो ।

प्रदेशसभा सदस्यहरु विकासका फाईल बोक्नमा व्यस्त रहेकाले प्रदेशसभाले आवश्यक कानुन निमार्ण गर्ने नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘प्रदेशसभाको मुख्य काम कानुन बनाउनु हो । ‘सबै विषयहरु कानुनसँग जोडिएका छन् । सांसदहरुले चासो नदिँदा कानुन निमार्णको काम प्रभावित बनेको छ । सांसदहरु विकासको फाइल बोक्नमा व्यस्त रहेका कारण कानुन निर्माणको काममा उहाँहरुको ध्यान परेको छैन ।’
सभामुख श्रेष्ठका अनुसार बागमती प्रदेशमा अब ३२ वटा कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । बागमती प्रदेशसभाले अहिलेसम्म ५९ वटा कानुन निर्माण गरेको जानकारी दिनुहुँदै उहाँले ११ वटा कानुनहरु संशोधन भएको समेत बताउनुभयो । यस्तै एउटा विधेयक समितिमा विचाराधिन रहेको तथा एउटा विधेयक दर्ता भएको उहाँले बताउनुभयो । उहाँले सरकारविरुद्ध पर्ने मुद्धाहरुको संख्या समेत बढीरहेको बताउँदै उहाँले प्रदेश सरकारविरुद्ध परेका मुद्धाका कारण कतिपय कामहरुसमेत रोकिएकाले सरोकारावाला पक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुख्यन्याधिवक्ता ओमप्रसाद थपलियाले प्रदेशसभाले निर्माण गरेको कानुनहरुका बारेमा समिक्षा गर्नुपर्ने बेला भएको बताउनुभयो । विविध समस्याका कारण प्रदेशसभाले बनाएको कानुनहरु कार्यान्वयन तहमा निष्कृय रहेको भन्दै यस बारेमा समिक्षा गर्न जरुरी देखिएको उहाँले बताउनुभयो । सरकारले यस विषयको समिक्षा गर्नका लागि विषय विज्ञको टोली बनाएर आवश्यक अध्ययनसहितको विश्लेषण आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्याम बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, निर्वतमान मुख्यन्यायधिवक्ता सुर्यचन्द्र न्यौपानेलगायतको आतिथ्यता थियो ।