हेटौंडा– तेस्रो संस्करणको शहीद स्मृति हेटौंडा गोल्डकप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ का खेलाडी अमीर श्रेष्ठले रोयल इनफिल्ड बाइक जितेका छन् । हेटौंडा–९ का स्थायीनिवासी श्रेष्ठले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी धोषित हुँदै हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको रोयल इनफिल्ड बाइक जितेका हुन ।

शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले उपाधि जितेको छ । फाइनल खेलमा साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले १० लाख पुरस्कार राशीसहित उपाधि जितेको हो । साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ उपविजेतामा सीमित हुँदै नगद पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।