dav

मकवानपुर – मकवानपुरका १० स्थानीय तह मध्ये हेटौंडा उपमहानगरपालिका बिरुद्ध सबैभन्दा बढी उजुरी परेको अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौंडाले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर जिल्लाका दश स्थानीय तह मध्ये सबैभन्दा बढी उजुरी हेटौंडा उपमहानगरपालिका बिरुद्ध परेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले जानकारी दिनुभयो ।
कार्यालयमा मकवानपुर जिल्लाका १० स्थानीय तहको २०७७÷०७८ मा १०४ वटा र २०७८÷७९ मा २०६ गरी कुल ३१० वटा उजुरी परेको छ । जस मध्ये हेटौंडा उपमहागरपालिका बिरुद्ध आर्थिक वर्ष २०७८÷०७९ को असार मसान्त सम्म १६९ उजुरी दर्ता भएको उहाँले बताउनुभयो । यस्तै हालसम्म हेटौंडा उपमहानगरपालिकाबिरुद्ध परेका मुद्धा मध्ये ११८ वटा फछ्र्यौट भएको र ५१ वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेको छ ।
यस्तै जिल्लाको थाहा नगरपालिका बिरुद्ध आव २०७८÷०७९ को असारमसान्तसम्म ८ वटा उजुरी दर्ता भएको र ७ वटा उजुरी फर्यौट गरिएको छ । भने, इन्द्र सरोवर गाउँपालिकामा ४ वटा उजुरी दर्ता भई ४ वटै उजुरी फछ्र्यौट भएको सापकोटाले बताउनुभयो । यस्तै जिल्लाको कैलाश गाउँपालिकामा १२ वटा उजुरी दर्ता भएको र ९ वटा फछ्र्यौट भएको, बकैया गाउँपालिकामा २१ वटा उजुरी दर्ता भएको र १६ वटा उजरी फछ्र्यौट भएको, बागमती गाउँपालिमा ६ वटा उजुरी दर्ता र ५ वटा फछ्र्यौट भएको, भीमफेदी गाउँपालिकामा १२ वटा दर्ता र ८ वटा फछ्र्यौट भएको, मकवानपुरगढी गाउँपालिकामा २० वटा उजुरी दर्ता र १४ वटा उजुरी फछ्र्यौट भएको, मनहरी गाउँपालिकामा ४२ वटा दर्ता र ३६ वटा फछ्र्यौट भएको र राक्सिराङ गाउँपालिकामा १६ वटा दर्ता र १० वटा फछ्र्यौट भएको सापकोटाले बताउनुभयो ।
कुल ३१० वटा उजुरी मध्ये गत वर्ष ७५ वटा र यस वर्ष १५२ गरी आव २०७८÷०७९ को असारमसान्तसम्म २२७ वटा उजुरी फछ्र्यौट गरिएको आयोगले जनाइएको छ । यस्तै हाल फछ्र्यौट हुन बाकीँ उजुरी ८३ वटा रहेको सापकोटाले बताउनुभयो । आयोगमा टेलिफोन मार्फत बढी उजुरी दर्ता भएको समेत उहाँले बताउनुभयो । उजुरी मध्ये रसिद दुरुपयोगका सबैभन्दा बढी साथै सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धि, उपभोक्ता समितिसँग सम्बन्धित, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धी उजुरीहरु परेको उहाँले बताउनुभयो । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु दर्ता भएको सापकोटाले बताउनुभयो ।