मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नु भएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको विदाई गरेको छ । मंगलबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल सहित सम्पुर्ण कार्यालय परिवारले प्रमुख जिल्ला अधिकारी जोशीलाई विदाई गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले उहाँलाई मायाको चिनो प्रदान गर्दै आगामि कार्यकालको सफलताको शुभकामना सहित विदाई गर्नुभयो । विदाई कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले प्रजिअ जोशीको तीन महिने कार्यकालमा राम्रो सहकार्य भएको बताउनुभयो । साथै प्रजिअ जोशीबाट पाएको सहयोगकोलागि धन्यवाद समेत प्रदान गर्नुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जोशीले पनि जिल्ला जिल्ला समन्वय समिति प्रमुख तथा समन्वय समिति बाट पाएको समन्वयात्मक भुमिकाकालागि धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी जोशीले मकवानपुरमा रहेर छोटो समयमा काम गर्ने अवसर पाउदाँ खुशी लागेको र याहाँको परिवेश हर हिसाबले उत्कृष्ट रहेको पनि बताउनुभयो । गत भदौ १८ गते मकवानपुरमा सरुवा भई आउनुभएका जोशी छिमेकी जिल्ला चितवनको भरतपुर महानगरपालिकाको प्रमुख कार्यकारीका रुपमा सरुवा भई जान लाग्नु भएको हो । अब मकवानपुरमा भने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट प्रजिअका रुपमा आउनु हुने बुझिएको छ । विदाई कार्यक्रममा समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।