काठमाडौँ– नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको र संशोधित नयाँ विधानमा संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महिनासम्म निलम्बन गर्ने व्यवस्था थप गरिएको मुख्य सचेतक भट्टराईले बताउनुभयो । दलको विधानमा संसदीय दलका नेताले नै संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतक तथा राष्ट्रियसभाका सचेतक र दलको प्रतिनिधि मनोनीत गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी बैठकले यही चैत ५ गते गरेको प्रस्तावका आधारमा २४ सदस्यीय संसदीय बोर्ड बनाउने निर्णयलाई पनि सर्वसम्मत पारित गरेको पनि मुख्य सचेतक भट्टराईले बताउनुभयो । संसदीय दलको आजको बैठकमा नेकपा एमालेका नेता बामदेव गौतम र माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेल समेत सहभागी हुनुभएको थियो । माधव नेपाल समूहले बैठकमा सहभागी नहुने भने पनि त्यस पक्षका सांसद कृष्णभक्त पोखरेल सहभागी हुनुभएको थियो ।