मकवानपुर– मकवानपुरमा १०औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आगामी चैत्र २७ गते देखि हेटौंडामा सञ्चालन हुने भएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले चैत्र २७, २८ र २९ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले चैत्र २१ ग्ते भित्र जिल्लाका १० वटै स्थानीय तह स्तरिय प्रतियोगिताको छनौट सम्पन्न गराई सक्न र छनौटको प्रतिवेदन, बिजेता खेलाडीको नाम नामेसी जिल्ला खेलकुद विकास समितिमा उपलब्ध गराई सक्न अनुरोध गर्ने निर्णय गरेको छ । हालसम्म जिल्लाका १० मध्ये ४ वटा स्थानीय तहमा छनौट सम्पन्न भईसकेका छन् । हालसम्म जिल्लाको थाहा नगरपालिका, भीमफेदी, मकवानपुरगढी र ईन्द्रसरोवर गाउँपालिकाले छनौट सम्पन्न गरिसकेको र अन्य स्थानीय तहहरुले आगामी चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने प्रतिबद्धता आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल (खुसराज) ले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा निर्दे्रशिका अनुसार पालिकामा छनौट गरिएका भलिवल, एथलेटिक्स, कबडी, सितिरियो कराँते, तेक्वाण्डो र उसु खेल सञ्चालन गरी बिजेतालाई खेलाडीलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा सहभागि गराईने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले प्रतियोगिताको खर्च विवरणसहितको प्रस्ताव तयार गरि प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास परिषदमा पेश गर्न जिल्ला खेलकुद विकास समितिलाई निर्देशन दिने निर्णय गरेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले जानकारी दिनुभयो । प्रतियोगिता संचालनका लागि कुल ९ लाख ८१ हजार ५५० रुपैयाँ लागत लाग्ने अनुमान गरिएको तर, जिल्लामा कुल ४ लाख मात्रै बजेट प्राप्त भएकोले समेत उहाँले बताउनुभयो ।
बैठकमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक खुलालले आवश्यक बजेटका लागि पहल गर्ने बताउनुभएको छ । उहाँले प्रतियोगिता तोकिएकै मितिमा व्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिलाई निर्देशन दिनुहुँदै आवश्यक बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । यस अघि क्षेत्रिय रुपमा खेलाडी छनौट गरेर सदरमुकामममा फाईनल प्रतियोगिता संचालन गरिंदै आएकोमा सरकारको नयाँ नियम अनुसार यस वर्ष देखि पालिका स्तरमा छनौट गरेर सदरमुकाममा फाईनल प्रतियोगिता संचालन गर्न लागिएको समेत उहाँले बताउनुभयो ।
बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गुणराज न्यौपाने, शिक्षा विकास समन्वय ईकाईका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेल, सुपारेटार ब्यारेकका मेजर सागर शम्सेर राना मगर, शसस्त्र प्रहरी उपरिक्षक निरकृष्ण अधिकारी, निमित्त जिल्ला समन्वय अधिकारी भीमलाल महर्जन, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, आधुनीक राष्ट्रिय माविका प्रअ बिरवंश बैठा, प्याबसन मकवानपुरका सचिव निविन केसीलगायत खेलकुद संग सम्बन्धीत संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिती थियो ।