मकवानपुर– हेटौंडामा बिहीबारबाट सुरु स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आजको खेल नेपाल आर्मीले जितेको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा शुक्रबार आर्मीले जावलाखेल यूथ क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो ।

No description available.

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमा जाउलाखेललाई पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको छ । टाइब्रेकरमा आर्मीका गोलरक्षक विवश चौधरीले जावलाखेलको राजेन्द्र रावल र विदेशी खेलाडी भिडाल लुइसको प्रहारलाई रोक्दै अन्तिम चारमा स्थान बनाएका हुन् । जावलाखेलको फोडे फोफोना र रुपबहादुर लामाको प्रहार मात्रै गोल भएको थियो । भने, आर्मीका दीपक गुरुङ, विकाश तामाङ, टंक बस्नेत र सेसेहाङ आङ्देम्बेको प्रहार गोलमा परिणत भएको थियो । दुईवटा प्रहार बचाएका आर्मीका गोलरक्षक चौधरी नै खेलको म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।
जारी प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मकवानपुरका स्थानीय तहको प्रायोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा १० वटा क्लवको सहभागिता रहेको छ ।