बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा आत्महत्या नै भएको ठहर भएको छ । एम्स अस्पतालको फोरेन्सिक रिपोर्टमा हत्या भएको कुनै संकेत फेला नपरेको रिपोर्ट सिबिआईलाई दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फोरेन्सिक रिपोर्टमा जस्तो अवस्थामा सुशान्तको मृत्यु भएको छ, त्यसमा कुनै हत्या भएको नदेखिएको उल्लेख गरिएको छ । सुशान्तको हत्या भएको भन्दै आमरुपमा र कैयौं सेलिब्रेटीहरु तथा मिडियाले आवाज उठाएपनि एम्सको फोरेन्सिक रिपोर्टले त्यसतर्फ संकेत नगरेपछि सुशान्तले आत्महत्या गरेको तर्फ सिबिआईले प्रक्रिया अगाडी बढाउने तयारी गरेको बताइएको छ ।
अब सिबिआईले सुशान्तले किन आत्महत्या गरे भन्ने कारण खोज्न आफ्नो छानबिन केन्द्रित गर्ने बताइएको छ । अहिले उनका निजी डिभाइस ल्यापटप, हार्ड डिस्क, क्यामरा, मोबाइलको छानबिन सीबीआईले गरिरहेको छ । सीबीआईले अहिलेसम्म सुशान्तको मृत्यु प्रकरणमा २० जनाभन्दा बढीसँग बयान लिइसकेको छ । जुन १४ मा सुशान्तको मृत्यु भएपछि अहिले आएर आत्महत्यामै केन्द्रित भएर छानबिन अगाडी बढेको हो ।