मकवानपुर- जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको सक्रिय सहभागितामा विकास र समृद्धि हासिल हुने बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ को प्रगती टोल–२ को निर्माणधिन स्ल्याप बाटोको बुधबार उद्घाटन गर्दै प्रमुख खुलालले विकास र समृद्धि हासिल गर्न जनप्रतिनिधि र जनता सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको हो ।
समृद्धि बोलेर मात्र नआउने भन्दै उहाँले सबैले सत्रियताका साथ आफ्नो क्षेत्रमा लाग्नुपर्ने धारणा राख्नुभएको हो । प्रमुख खुलालले नगर क्षेत्रको विकासका लागि जनता र स्थानीय तहबीच सहकार्य गर्दा विकास छिटोछरितो रुपमा अगाडी बढ्ने बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको ७ लाख तथा जनश्रमदान ३ लाख गरि कुल १० लाख लागतमा निर्माण हुन लागेको स्ल्याप बाटोको उहाँले उद्घाटन गर्नुभएको हो । नगरभित्रको चालु आर्थिक वर्षको पहिलो योजना हेटौँडा ९ कार्यथालनी गरेको हो । कुल १५६ मिटर लम्बाई र ४ मिटर चौडाई बाटो उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नगरभित्रको पहिलो योजना हो ।
कार्यक्रममा हेटौँडा–९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, वडा सदस्य सुकराम केसी, लक्ष्मी नेपाली, बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर बास्तोला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडालगायतको सहभागिता रहेको थियो ।