मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना विरुद्धको खोप अभियानमा सहभागी भई सुरक्षित र स्वस्थ रहन सबैलाई आव्हान गर्नुभएको छ । मकवानपुर जिल्लामा आजबाट सुरु गरिएको कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियानको शुभारम्भ समारोहमा प्रमुख खुलालले सबैलाई खोप अभियानमा सहभागी हुन आव्हान गर्नुभयो ।
दोस्रो चरणको खोप शुभारम्भ समारोहमा उहाँले सबैलाई अभियानमा सहभागी भएर सुरक्षित र स्वस्थ रहन आव्हान गर्नुभयो । उहाँले जनताबीचमा छिटोभन्दा छिटो खोप अभियान सञ्चालन गर्नुपर्ने भन्दै नागरिकको पहुँचमा खोप अभियान पुगेपछि मात्रै अभियानले सार्थकता पाउने बताउनुभयो ।
वागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा आजबाट दोस्रो चरणको खोप लगाउन सुरु गरिएको हो । दोस्रो चरणमा आजबाट पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरूका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि माघ १४ गतेबाट पहिलो चरणको खोप दिइएकोमा सरकारले आइतबारबाट दोस्रो चरण सुरु गरेको हो । पहिलो चरणमा जिल्लामा दुई हजार १६६ जनालाई खोप लगाइएको थियो । दोस्रो चरणमा भने जिल्लामा ५ हजार खोप उपलब्ध भएको र दोस्रो चरणको खोप अभियान फागुन ८ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । चरणबद्ध रुपमा सबैलाई अनिवार्य खोप सेवा दिइने उपाध्यायले बताउनुभयो ।