मकवानपुर– मकवानपुरको बकैया गाउँपालिकास्थित प्रहरी चौकी हात्तिसुँडेको भवन बिहीबार उद्घाटन गरिएको छ । बकैया गाउँपालिका–४, स्थित नवनिर्मित चौकीको बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभएको हो ।

प्रहरी चौकी उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रहरी शान्ति सुरक्षाको पहिलो प्राथामिकता भएकोले यस भौतिक पुर्वधारको विकासले प्रहरीको मनबोल उच्च हुने बताउनुभयो । जबसम्म प्रहरी सांगठनिक रुपमा दरिलो हुन्न तबसम्म उनिहरुले मनोबल उठाउन नसक्ने उहाँको भनाई थियो । आफ्नै घरबाट दिएको सुरक्षा र अरुको घरबाट दिएको सुरक्षाले निकैनै प्रभाव पार्ने उहाँले बताउनुभयो । बागमती प्रदेशको १ करोड ९६ लाख ६६ हजारको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा निर्माण गरेको ४६ मध्ये १४ औं भवनको आज उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, गाँउपालिकाका अध्यक्ष दामोदर खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर लगायतको उपस्थिती रहेको थियो । सो क्रममा मुख्यमन्त्री पौडेल लगायत अतिथीहरुले चौकीमा निर्माण भएकोे भवनको निरिक्षण समेत गर्नुभएको थियो ।