काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गौरवपूर्ण इतिहास रच्न योगदान गरेका महान् पुर्खा र पूर्वजको सम्मान गर्नुपर्ने बताउनुभएको छ । नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम वृहत् सेमिनारको आज जङ्गी अड्डामा समापन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पुर्खाको बलिदान र इतिहासलाई ताजा राख्दै गढी, किल्ला र मार्गको संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न एकीकरण मार्ग कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थका लागि हुने एकीकरणले देश भक्ति र गम्भीरताको अभाव हुने उल्लेख गर्नुहुँदै एकीकरणका लागि राष्ट्र निर्माणको इतिहास र पुर्खाको बलिदानलाई स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले कुनै पनि कुरालाई विधि, प्रणाली, प्रक्रिया र संविधानसम्मत ढङ्गले न्यायोचित हकहित सबैले पाउनु पर्ने उल्लेख गर्नुभयो । स्वार्थलाई बलको आधारमा फैसला गर्न खोजियो भने हिंसा पैदा हुने भन्नुहुँदै प्रधानमन्त्री ओलीले स्वार्थलाई हितको रुपमा बुझेर विधिसम्मत ढङ्गले प्राप्त गर्न खिजियो भने मात्र पूर्ण शान्ति प्राप्त हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल पुराण र शास्त्रमा समेत वर्णित मुलुक भएको स्मरण गर्नुहुँदै गढी र किल्ला मुलुक जोगाउने महत्त्वपूर्ण स्थल रहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा नेपाली सेनाद्वारा तयार पारिएको एकीकरण मार्ग कार्यक्रम सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । सात वटै प्रदेशमा एक एक सङ्ग्रहालय र एकता वाटिका निर्माण गरी एकीकरण मार्ग कार्यक्रमबाट ऐतिहासिक किल्ला र गढीको संरक्षण गरी पर्यटनको विकास गर्ने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ । हालसम्म मुलुकका विभिन्न स्थानमा १ सय ३२ गढी र किल्लाको पहिचान भएको जनाएको छ ।