नेपालमा कोरोना भाइरसका १४२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ जना पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १४२ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ८१ हजार ६६५ वटा पीसीआर परीक्षण भइसकेको छ ।
देशका विभिन्न अस्पतालबाट २०६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४ मा उक्लेको छ । हाल दुई हजार ३३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेको छ । क्वारेन्टिनमा ९५ जना मात्र छन् । पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा दुई हजार ३१ जनाको मृत्यु भैसकेको छ । पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा अहिलेसम्म एकलाख ३५ हजारभन्दा बढी व्यक्तिले खोप लगाएको जनाउनुभयो । लक्षित वर्गमा कोही छुटेमा चाँडै खोप लगाउन पनि उहाँले आग्रह गर्नुभयो ।











