मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको बिस्तारित बैठक बिहीबार सम्पन्न भएको छ । नेकपा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षता तथा नेकपा केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा बिस्तारित बैठक बसेको हो ।

नेकपा मकवानपुरको आजको बिस्तारित बैठकले जिल्ला कमिटी सचिवसहित थप जिल्ला सदस्य मनोनयन गरेको छ । बैठकबाट सचिवमा लाल बहादुर थापालाई चयन गर्नुका साथै थप सदस्य मनोनयन गरेको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आजको बैठकले जिल्ला सचिव सहित थप ९० जनालाई जिल्ला सदस्यमा मनोनित गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । योसंगै नेकपा मकवानपुरमा जिल्ला सदस्यको संख्या २ सय ३५ जना पुगेको छ ।

यसअघि गत पौष २५ गते भएको जिल्ला भेलाले तत्कालीन अध्यक्ष मुनु सिग्देल र सचिब प्रेम बहादुर पुलामीलाई पाट्री हित बिपरित कार्य गरेको भन्दै निलम्बन गर्दै अध्यक्षमा एकालाल श्रेष्ठलाई चयन गरेको थियो । आज मनोनित भएका जिल्ला कमिटीका सदस्यहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले शपथ ग्रहण समेत गराउनुभएको सचिव लाल बहादुर थापाले जानकारी दिनुभयो ।

बैठकले जिल्लाका हरेक स्थानीय तहका वडा तहसम्म पार्टी सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने, पार्टीलाई एक ढिक्का भएर अगाडी लैजाने, फुटको संघारमा रहेको पार्टीलाई थप मजबुद बनाउने, पार्टीको चितवन र काठमाण्डौमा हुने सभामा मकवानपुरबाट हजारौको सख्यामा प्रतिनिधित्व गराउने निर्णय भएको अध्यक्ष श्रेष्ठले वताउनुभयो । बैठकमा नेकपा केन्द्रिय सदस्य एवम् जिल्ला सहईन्चार्ज रामेश्वर राणा, केन्द्रीय सदस्यहरु रघुनाथ खुलाल, अनन्त पौडेल, मधुसुधन खतिवडा, प्रलाद लामिछाने, सुवास चन्द्र ठकुरी, जुनेली श्रेष्ठ, महेश कुमार वतौला लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।