बागमती प्रदेश प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमाञ्चक बराबरी खेलेको बागमती सेमिफाइनलमा पुगेको हो ।
बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुङ्गिएको थियो । रोमाञ्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । लुम्बिनीले ९ विकेट गुमाईसकको थियो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । लुम्बिनीसँगको खेल बराबरी भयसँगै समूह ‘बी’ बागमतीले ४ खेलमा ७ अङ्क जोड्यो । बागमती समूह विजेताको रुपमा सेमिफाइनल पुग्न सफल भयो । लुम्बिनीले भने ४ खेलमा ५ अङ्क जोडेको छ । लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ । अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश–२ खेल्न छन् ।
पुलिस र प्रदेश–२ बिचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । पुलिस ४ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । प्रतियोगिताबाट बाहिरिइसकेको प्रदेश–२ अङ्कविहीन रहेर पुछारमा रहेको छ । अर्को खेलमा सुदूरपश्चिम प्रदेशले सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा प्रदेश–२ लाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सान्त्वना जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा प्रदेश–२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो । जितसँगै समूह ‘बी’को सुदूरपश्चिमले ४ खेलमा २ अङ्क जोड्यो । सुदूरपश्चिम प्रतियोगिताबाट यस अघि नै बाहिरिइसकेको छ । यस हारसँगै प्रदेश–२ पनि प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम खेलमा प्रदेश–२ ले नेपाल पुलिससँग खेल्नेछ ।