मकवानपुर– अगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा चुनावका लागि मकवानपुर जिल्लामा तयारी तीब्र पारिएको छ । निर्वाचनका लागि सुरक्षा योजना तयार गर्ने देखि मतदान केन्द्र तथा मतदान स्थल पुनरावलोकन, स्थानीय तह र राजनैतिक दलसंग आवश्यक छलफललगायतका कार्यलाई तीब्रता दिईएको छ ।

निर्वाचनको सन्र्दभमा जिल्लामा निर्वाचन केन्द्र तथा निर्वाचन स्थल थप गर्न निर्वाचन आयोगमा सिफारीस गरेको छ । आज बसेको मतदान केन्द्र तथा मतदान स्थल पुनरावलोकन समितिको बैठकले जिल्लामा एउटा मतदान केन्द्र र मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारी गरेको हो । पुनरावलोकन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले जिल्लाको मनहरी गाउँपालिका–६ मा मतदान केन्द्र र मतदान स्थल थप गर्न सिफारीस गरेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा कायम रहेका मतदान स्थलहरु मध्ये मनहरी गाउँपालिका–६ स्थित राष्ट्रिय मावि सुनाचुरीलाई टुक्रयाई राष्ट्रिय सरस्वती आधारभुत मावि बाल भञ्याङ्ग र राष्ट्रिय मावि सुनाचुरी कायम गर्न सिफारीस गरेको प्रजिअ रिजालले बताउनुभयो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा मकवानपुरमा १६४ मतदान स्थल र ३२४ मतदान केन्द्र कायम रहेका थिए । जिल्लामा साविकमा २ लाख ५५ हजार ६०४ मतदाता संख्या कायम रहेका थिए । जिल्ला निर्वाचन कार्यालय मकवानपुरकाे आयाेजनामा भएकाे बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुखलगायत जिल्लामा कृयाशिल राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिको उपस्थिती थियो ।