हेटौंडा– हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा शनिबार नेपाल कम्युनिष्ट पाट्री (नेकपा) को कार्यकर्ता भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ । पाट्री सुध्रिढिकरण अभियान अन्तरगत नगरका ५ वटा वडामा आज भेला आयोजना गरेर नयाँ नेतृत्व चयन गरिएको हो ।
आज हेटौंडाको वडा नम्बर २, ६, ८, ९ र १३ मा भएको भेलाबाट नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न पाट्री परित्याग गरि कार्यकर्ताहरु नेकपा ओली समुहमा प्रवेश गरेको नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो । भेलाले पार्टी हित विपरित कार्य गरेको भन्दै अनुशासनको कारबाही गर्दै हेटौंडा २, ९ र १३ मा पुरानाे नेतृत्वलाई पदमुक्त गर्दै नयाँ नेतृत्व चयन गरेको उहाँले बताउनुभयो । आज वडा नम्बर २ को पाट्री अध्यक्षको जिम्मेवारी रामकृष्ण तिमलसिनालाई, वडा नम्बर ९ मा अध्यक्षमा यदुवंश खतिवडा र सचिवमा नारायण खतिवडा तथा वडा नम्बर १३ मा अध्यक्षमा भीम बहादुर लामा र सचिवमा उद्धब दंगाललाई जिम्मेवारी दिईएको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
विभिन्न वडामा भएको भेलाहरुमा बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा केन्द्रिय सदस्य डोरमणि पौडेल, राष्ट्रिय सभा सदस्य एवम् केन्द्रिय सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य एवम् केन्द्रिय सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य एवम् केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख एवम् केन्द्रिय सदस्य रघुनाथ खुलाल, केन्द्रिय सदस्य मधुुदन खतिवडा, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, नगर अध्यक्ष शालिकराम पुडासैनीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलामा उहाँहरुले वर्तमान राजनीतिक परिस्थिति, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आगामी योजनालगायतका समसामयिक विषयमा कार्यकर्तालाई जानकारी दिनुभएको थियो । उहाँहरुले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले प्रधानमन्त्री ओली र सरकार विरुद्ध फैलाएको भ्रममा नपर्न आग्रह गर्दै बैशाख १७ र २७ गते हुने चुनावको तयारीमा रहन कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।