मकवानपुर– मकवानपुर जिल्ला स्थित ऐतिहासीक मकवानपुरगढीको २५८औं विजय उत्सब शनिबार मनाईएको छ । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा हरेक वर्ष झै यो वर्ष पनि विजय उत्सव मनाईएको हो ।

मकवानपुरगढी बिजय उत्सब मुल समारोह समितिका अध्यक्ष एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का निवर्तमान सांसद कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले मकवानपुरगढीको ईतिहासलाई संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु मकवानपुरगढी घुम्न आउने क्रम बढेको भन्दै यसको थप व्यवस्थापन र प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विर पुर्खाको प्रतिकका रुपमा रहेको ऐतिहासिक दरवारलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । मकवानपुरगढीको इतिहास, महत्व र अहिले पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै गएको भन्दै यसबाट आर्थिक सामाजिक क्षेत्रमा समेत टेवा पुगेको बताउनुभयो । स्थानीय सरकारले यसमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरानमा उपत्यका विजय प्राप्त गर्न मकवानपुर राज्यको एकीकरण अत्यावश्यक ठानी विस १८१९ भदौ ९ गते लडाई गरी मकवानपुरगढीमा विजय प्राप्त गर्नुभएको थियो । मकवानपुर राज्यको पराजय पछि राजा दिगबन्धन सेनको सहयोगार्थ गुरगिन खाँको नेतृत्वमा मुगल फौजलाई गोर्खाली सेनाले विस १८१९ माघ १० गते परास्त गरेको सम्झनामा मकवानपुरगढी दरबारमा हरेक वर्ष माघ १० गते उत्सव मनाउने गरिएको हो । विजय उत्सवका अवसरमा झण्डात्तोलन गर्नुका साथै नेपाली सेनाद्धारा सलामी समेत अपर्ण गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, गाउँपालिकाका उपाध्यक्ष हर्कमायाँ रुम्बा, मकवानपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष बखानसिंह पाख्र्रिन लगायतकाले मकवानपुरगढी दरबारले ऐतिहासिक महत्व राख्ने हुँदा यसको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।