मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले असोज महिनामा रजत वर्ष र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी फाउण्डेशन स्थापनाको २५औं वर्ष अर्थात् रजत वर्ष र नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

वि.सं. २०५६ साल भाद्र १७ गते ‘मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको नाममा स्थापना भएको संस्था विस २०६१ साल भाद्र १७ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तरगत मदन भण्डारी फाउण्डेशन नाममा दर्ता भएको छ । बैठकले संस्था स्थापनाको रजत वर्ष पुगेको अवसरमा केन्द्रिय निर्देशन अनुसार र नेपाली चाडपर्वहरुको अवसरमा यहि असोज १८ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।

यस्तै बैठकले मदन भण्डारी फाउन्डेसनका कोषध्यक्ष चन्द्रवती पनेरु मकवानपुर घरेलु तथा साना उद्योग संघको महिला उद्यमी समिति अध्यक्षमा निर्वाचित हुनुभएकोले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै बैठकले संस्थाको सदस्यता नविकरणलाई तिब्रता दिनेलगायत निर्णय गरेको सचिव बाेलबहादुर कार्कीले बताउनुभयो ।