मकवानपुर– छैठौं संस्करणको हेटौंडा भेट्रान्स कप (एट ए साइड) फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले जितेको छ । शनिबार भएको फाइनल खेलमा बगरभाइले सानो गौचरण काठमान्डौलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै लगातार दाेस्राे पटक उपाधि कब्जा गरेको हो ।

प्रतियोगितामा विजेता बगरभाइ खलक पोखराले नगद एक लाख एक हजार १११ रुपैयासहित शिल्ड, र प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता सानो गौचरण काठमाडौंले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गरेको छ । खेलको दोस्रो हाफको ४० औं मिनेटमा मनोज गुरुङले गरेको गोलनै निर्णयक बनेको थियो । खेलको म्यान अफ द म्याच बगरभाइका नरेश श्रेष्ठ घोषित भए ।
प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर बगरभाइका राजकुमार केसी, उत्कृष्ट फरवर्ड बगरभाइका मनोज गुरुङ, उत्कृष्ट डिफेन्स सानो गौचरणका चुन बहादुर थापा, उत्कृष्ट गोलकिपर बगरभाइका दिलिप क्षेत्री उत्कृष्ट समुह कोच बगरभाइका अन्जन देवकोटा, उत्कृष्ट खेलाडी बगरभाइका इश्वर गुरुङ चन्द घोषित भएका थिए । उनीहरुलाई जनही ५ हजार पुरस्कार प्रदान गरीएको थियो । हेटौंडाको हुप्रचौरमा भएको खेलको विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत र बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले नगद, शिल्ड र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।