हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)० का अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रले मुलुक संकटको दलदलमा भासिएको बताउनुभएको छ । शुक्रबार मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै राप्रपा अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेकोले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्नुहुँदै थापाले धर्म, संस्कृति र पहिचान रक्षाका निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताउनुभयो । राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको तर, निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्नुहुँदै उहाँले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहनुपर्ने बताउनुभयो । फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्नुहुँदै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने दावी गर्नुभयो । भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्नुहुँदै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताउनुभयो । राप्रपा नेता मधु अधिकारीले कांग्रेस कम्युनिष्ट असफल भएको, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण राज्यबाटै भएको भन्दै राज्य व्यवस्था परिवर्तन नगरी नयाँ आशा दिन नसकिने दावी गर्नुभयो । कार्यक्रममा राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा रामहरी न्यौपाने, खिलप्रसाद चौलागाई, गुरु सापकोटा, कृष्ण बिडारी, उमाकान्त गौतम, जयराम तिमल्सिना लगायतले बोल्नुभएको थियो ।