नारायणी अस्पतालकी एक नर्सलाईसमेत कोरोना संक्रमण
बीरगंजको नारायणी अस्पतालको आईसोलेशनबाट हिजो अपरान्ह फरार दुई जना कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एकजनालाई बीरगंज महानगरपालीकाको पश्चिममा पर्ने तिलाबे नदीको पुल नजिकैबाट र अर्काेलाई बिन्दबासीनी गाउपालीकाको हरिहरपुरबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
कोरोना संक्रमित बीरगंज महानगरपालीका वडा नम्बर १६ घरभई आफ्नो ठेगाना बीरगंज छपकैया लेखाउने रामनाथ यादब र अर्का बीरगंज छपकैयाकै जफार मियाँ रहेका छन् । मियाँलाई हरिहरपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । संक्रमित अभियुक्त दुबैजना नारायणी अस्पतालको दोस्रो तल्लाको पछाडी रहेको शौचालयको भेन्टिलेशन तोडेर फरार भएका थिए ।
यसैबिच बीरगंजको नारायणी अस्पतालमा कार्यरत एकजना नर्समा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार ३६ बर्षिय नर्सलाई कोरोना भाईरसको संक्रमण देखिएको हो । संक्रमण देखिएकी नर्सको अबस्था सामान्य रहेको छ । उनमा हालसम्म कुनै लक्षण नदेखिएको चिकित्सकहरुले जनाएका छन् । यसअघि उनी संक्रमितहरुको उपचारमा सक्रिय रहेको अस्पताल स्रोतले जनाएको छ ।