फाइल फाेटाे

रघुनाथ खुलाल

एकतन्त्रिय जहाँनिया राणा शासन कालको विस्थापनसंगै नेपालमा संविधान सभामार्फत नेपालको संविधान बनाउने आवाज विक्रम संम्वत्. २००७ सालदेखि नै उठेको भएतापनि नेपाली जनताले आफ्ना प्रतिनिधि मार्फत संविधान बनाउने त्यो प्रयास, त्यो सपना २०७२ सालमा आएर मात्र साकार हुन सक्यो । नेपालमा चलेको माओवादी जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनलगायत विभिन्न कालखण्ड र सन्दर्भहरुमा संविधान सभामार्फत नेपालको संविधान निर्माण गर्ने नेपाली जनताको जनईच्छा ६५ बर्ष पछि आएर मात्र सम्भव भएको हो ।
नेपाली जनताको त्याग, बलिदान, संघर्ष र जनमतको सम्मान स्वरुप २०७२ साल असोज ३ गते हामीले संविधान सभामार्फत निर्माण गरेको नेपालको संविधान प्राप्तगर्न सफल भयौं । ऐतिहासिक संविधान दिवस हामी नेपालीहरुको ऐतिहासिक दिन भएको हुंँदा यसलाई राष्ट्रिय पर्वको रुपमा उल्लासपूर्वक मनाएका छौं र मनाउनु आवश्यक पनि छ । लामो संघर्ष र वलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न अपरिहार्य छ ।
तत्कालीन अवस्थामा संविधान निर्माण प्रति देशी तथा विदेशीहरुको आ–आफ्नै खाले चासो र ंस्वार्थ रहनु अन्यथा रहेन र राजनीतिक दलहरुको पनि मत एक बन्न नसकेको कारण २०६४ सालमा निर्वाचित संविधान सभाले ६ बर्ष लगाउँदा पनि नेपाली जनतालाई संविधान दिन सकेन र पुनः २०७० सालमा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनले दुई बर्ष लगाएर विभिन्न बांधा, व्यवधान र कठिनाईहरुलाई चिर्दै २०७२ साल असोज ३ गते सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरी नेपालको संविधान प्राप्त गर्न सफल भयौं । जुन कुरा हाम्रालागि गौरवमय कुरा हो ।
ठूलो त्याग र वलिदानका बावजुद निर्माण गरिएको नेपालको संविधान २०७२ ले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्सात् गरी अनेकतामा एकता, सामाजिक सद्भाव र सहष्णिुता कायम गर्न सफलभएको छ । तीन तहको निर्वाचनहरु सम्पन्न पश्चात गठित संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु एक आपसमा सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट नेपाललाई “सुखी नेपाली समृद्ध नेपाल” बनाउने अभियानमा लम्केका छन । त्यस्तैले संविधानको संस्थागत विकास र यसको महत्वका बारेमा अझ घनिभुत छलफल गर्दै यसको संस्थागत विकास गर्नकालागि तथा राष्ट्रप्रति अझ गम्भीर, जिम्मेवार, अझ संयमित र अनुशासित भई राष्ट्रहीत निम्ति हामी एक जुट हुनुको विकल्प छैन ।
संविधानले दिशा निर्देश गरेकै कारण आज नेपाल नयाँ युगको चरणमा बामे सर्दै छ । नयाँ नयाँ अभ्यास र फरक मूल्य मान्यताहरुको विकासलाई आत्मसात गर्दै देश अघि बढ्दै छ । संविधान कार्यान्वयनको क्रममा केहि अलमल, केहि अस्पष्टताहरु र केहि कमिकमजोरीहरु हुन सक्दछन् र पनि ती कमिकमजोरीलाई सुधार्दै, संयमित र धैर्यता अपनाई सामाजिक सदभाव कायम गर्दै पूर्खाहरुको गरिमामय पौरखहरुलाई स्मरण गर्दै निष्ठा पूर्वक राष्ट निर्माणको अभियानमा सरिक हुनु अहिलेको आवश्यक्ता हो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न वर्तमान सरकार सफलताको दिशा तर्फ लम्कीएको छ । दलहरुको सहमतिको साझा दस्तावेजको रुपमा प्राप्त नेपालको संविधान, संघियताको नयाँ अभ्यासको चरणमा प्रवेश गरेको छ । संविधानले परिलक्षित गरेका कार्यमा हामी सबै जुट्नु र यसलाई जनताको समृद्धितर्फको यात्रामा उपयोग गर्नु आजको आवश्यक्ता हो । यसमा कतैबाट आँच आउन नदिई सवै नेपाली एक जुट भई समृद्ध राष्ट्र नेपाल बनाउन लाग्नु पर्दछ ।

(खुलाल जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला समन्वय समिति महासंघ प्रदेश–३ का अध्यक्ष हुन् ।)