मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले हरेक क्षेत्रको विकासमा ध्यान दिएको बताउनुभएको छ । बिहीबार हेटौंडा–६ स्थित श्रीकृष्ण प्रणामी सेवा समिति मुल मन्दिरको ५२औं वार्षिकोत्सव, साप्ताहिक पाठ पारायण तथा मुल मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सन्तुलित विकासको अवधारणा अनुसार काम गरिरहेको बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले सरकारले हरेक क्षेत्रको विकासमा जनअपेक्षा अनुसार संतुलित रुपमा काम गरेको बताउनुभएको छ । तर, विकास र समृद्धिका लागि सबैको सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले भन्नुभयो–“गफ गरेर मात्र विकास र समृद्धि हासिल हुँदैन, त्यसका लागि सबैको सकृयता, सहयोग र काम गर्ने प्रतिबद्धता जरुरी छ । काम गर्नुस प्रदेश सरकारले हरेक क्षेत्रमा सहयोग गर्ने छ ।” प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी, सडकपुर्वाधार जस्ता आधारभुत आवश्यक्तासहित साजिक, आर्थिक, धार्मिक, सांकृतिकलगायत क्षेत्रको विकासलाई प्राथमिक्ताका साथ काम गरेको बताउनुभयो ।
२०७२ सालको भुकम्पका कारण क्षती भएको मन्दिर बागमती प्रदेश सरकारको ६५ लाख, सांसद विकास कोगषबाट ७ लाख, हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख र अन्य स्थानीयको सहयोगमा करीब २ करोडको लागतमा निर्माण गरिएको हो । सो अवसरमा मन्दिर निर्माणका लागि सहयोग गर्नुभएकाहरुलाई सम्मानित गरिएको थियो ।
श्रीकृष्ण प्रणमी सेवा समिति मुल मन्दिर गौरीटारका अध्यक्ष वासुदेव खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय अध्यक्ष श्याम केसी, उपाध्यक्ष श्याम कृष्ण शर्मा बजगाई,हेटाैंडाका विभिन्न वडाका वडाअध्यक्षहरूलगायतको सहभागिता थियो ।