मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हरेक महिना आयोजना गर्ने स्थानीय तह समन्वय बैठक आईतबार बसेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गर्नुका साथै निर्णय समेत गरेको छ ।

बैठकमा जिल्ला समन्वय समितिको आयोजनामा सञ्चालन गरिने स्थानीय तह स्तरीय फुटबल प्रतियोगिताका बारेमा जानकारी गराईएको थियो । जिससको आयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहको सहभागिता हुने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभये । यस्तै बैठकले स्थानीय तहहरुको चालु आर्थिक वर्षको समग्र पुर्वाधार योजनाहरु जिससलाई उपलब्ध गराउने निर्णय गरेको छ । स्थानीय तहको योजना अनुगमनका लागि स्थानीय तहको गौरबका योजनाहरु, संघीय सरकार र प्रदेश सरकारद्धारा सञ्चालित सम्पूर्ण योजनाको विवरण उपलब्ध गराउने निर्णय भएको हो । जिससले यो पटक स्थानीय तहको गौरबको योजना, चालु आर्थिक वर्षमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारद्धारा सञ्चालित पुर्वाधार योजनाहरुको अनुगमन गर्ने हुँदा उक्त योजनाहरको विवरण उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकमा जिससले सञ्चालनको तयारी गरेको व्यवसाय प्रबद्र्धन केन्द्रका बारेमा जानकारी गराउनुका साथै जिल्ला सभाबाट आगामी २०७८ सम्ममा जिल्लालाई बालमैत्री घोषणा गर्ने निर्णय भए अनुसार स्थानीय तहहरुमा भएका कामको प्रगतिका बारेमा समेत छलफल भएको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा स्थानीय तहका प्मुख उपप्रमुखहरुले बालमैत्री स्थानीय तह घोषणाका लागि कामहरु भईरहेको बताउनुभएको थियो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ, ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, समन्वय अधिकारी आनन्दराज पोखरेल, बागमती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटालगायतको उपस्थिती थियो ।