हेटौंडा– मकवानपुर प्रहरीले १३० किलो लागुऔषध गाँजासहित गाँजा ओसारपसारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरकाे दुई स्थानबाट गाँजा र गाँजा ओसारपसारमा संलग्न ८ जनालाइ पक्राउ परेको हाे ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार मनहरी गाउँपालिका–८ सिमपानीबाट ४४ किलोग्राम गाँजासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । सडक किनारमा लुकिछिपी बसेर गाँजा लोड गर्ने तयारी गरिरहेका राक्सिराङ गाउँपालिका–२, का २२ वर्षीय सुजन प्रजा, सोही स्थानका २५ वर्षीय दीपक लामा, ५२ वर्षीया कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ, ३१ वर्षीय रतन सिन्तान, ३६ वर्षीय उदाश ब्लोन, २५ वर्षीय प्रेम मोक्तान, कैलाश गाउँपालिका–४ बस्ने ३४ वर्षीय सीताराम स्याङ्तानलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयाे । प्लाष्टिकले बेरेर ढिक्का बनाइएको अवस्थामा ४ वटा पोकामा रहेको ४४ किलोग्राम गाँजा बरामद गरिएको उहाँले जानकारी दिनुभयाे ।
त्यसैगरी इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–६ रुपाचुरी जंगलमा गाँजा ओसा पसार भइरहेको भन्ने सुराकीको आधारमा ८६ किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरी टोली देखेपछि उनीहरुले गाँजा छाडेर भागेकाे प्रहरी नायव उपरिक्षक रानाले बताउनुभयाे । दुबै घटनामा संलग्नहरुको खोजी र अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।