प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने बताउनु भएको छ । कैलालीको धनगढीमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारको सिफारिस अनुसार निर्वाचन आयोग निर्वाचनको तयारी लागेको छ, प्रतिनिधिसभाको निर्वाचन हुन्छ ढुक्क रहनोस्, भन्नुभयो ।
प्रधानमन्त्री ओलीले ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री (आफू) ले ताजा जनादेशमा जाने भनेर संसद् विघटनको सिफारिस गरेको उल्लेख गर्नुहुँदै अब चुनावबाट प्रतिनिधिसभा आउने (फर्किने) बताउनुभयो । ५० बर्ष अगाडी गणतन्त्रका लागि सर्घषको मैदानमा उत्रिएर आफू १४ बर्ष जेल बसेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले आफूलाई गणतन्त्रवादी होइन भनेर कुर्लिएको देखिन्छ, भन्नुभयो । फाटो तिर नभई एकतातिर अगाडी बढौँ भन्नुहुँदै प्रधानमन्त्री ओलीले उहाँहरू (पुष्पकमल दाहाल, माधव नेपाल) किन बैठकमा आएनन् भनेर आफूले खोजी गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशमा सुशासन ल्याउनु, भ्रष्टाचारको अन्त्य गर्नु र नेपाली जनतालाई सुखी नेपाली बनाउने गरी सरकारले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा अघि सारेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरेको उल्लेख गर्नुहुँदै आरक्ष पीडित, भूमिहीन, सुकुम्वासीलगायतका समस्या समाधानका लागि सरकारले भूमि सम्बन्धी समाधान आयोगमार्फत काम गरिरहेको बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशको विकासका लागि बजेटको कमी हुन नदिने उल्लेख गर्नुहुँदै धनगढी विमानस्थलको स्तरोन्नति, उरै–ताक्लाकोट जोड्ने सडक निर्माण, गेटा मेडिकल कलेज, महाकाली पुल, दैजी–श्रीपुर औधौगिक क्षेत्र, महाकाली सिँचाई आयोजनालगायतका विकास आयोजनाको काम भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर जलविद्युत आयोजनाका सम्बन्धमा सरकार गम्भीर रहेको बताउनुभयो ।
जनसभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री प्रेम आले लगायतले बोल्नु भएको थियो । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी, नेतृ निरु पाल लगायतका नेताहरूको सहभागिता थियो । जनसभामा प्रधानमन्त्रीले विभिन्न मागसहितका तीन वटा ज्ञापन पत्र बुझ्नुका साथै विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूलाई पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।