गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियताको पक्षमा निरन्तर लाग्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल कम्युनिष्ट पाट्री नेकपाको केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकलाई बिहिबार सम्बोधन गर्नुहुँदै गृहमन्त्री थापाले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णय क्रान्तिकारी निर्णय भएको बताउँदै आफु राष्ट्रियताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाउनुभएको हाे ।

उहाँले बैठकलाई सम्बोधन गर्दै संसद विघटन हुनु अग्रगामी र क्रान्तिकारी कदम भएको बताउनुभयो । “संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो । विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो । निर्वाचन हुनु अग्रगमन हो । हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,” उहाँले भन्नुभयो । “अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ । यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,” उहाँले भन्नुभयो, “केही साथीहरु संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन् । यो स्यालको हुइयाँ हो । हामीले यसलाई चिर्नु छ ।” स्थिरता र स्थायित्व प्रदान गर्न जनताका बिचमा गएर दुई तिहाइ ल्याउने वाचा गर्न जरूरी रहेको उहाँले बताउनुभयो । “निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ, हामिलाई एकताबद्ध गर्ने जिम्मेवारी हामीले पूरा गर्न सकेनौ अब जनतालाई दिएका छौं । यो अभियान हो । यसले मात्र कम्युनिस्ट एकता गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । चुनावबाट एकता गरेकाले फेरि पनि जनतामा गएर यो बिभाजित आन्दोलनलाई एकता गर्न सक्ने भन्दै फुटवादीहरुलाई जबाफ दिन नङग्याउन जनतामा जानुपर्ने उहाँको भनाई थियो ।
गृहमन्त्री थापाले पार्टी नफुटाउन पटक पटक आग्रह गरेको भए पनि प्रचण्ड र माधव नेपालले नसुनेको बताउनुभयो । उहाँले प्रचण्ड नेपालले पार्टी फुटाउने कसम नै खाएको समेत उल्लेख गर्नुभयो । ‘पार्टीलाई बिभाजन गर्नेहरुका अगाडी गएर अनुनय विनय ग¥यौ, तर पनि बिभाजनकारिले मानेन । नेतृत्व सिध्याउन हत्याउन पार्टीलाई फुटाउने कसम खानु भएको थियो,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले सरकारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नु भएको थियो, त्यो अभिष्ट अस्ति पार्टी प्यालेसमा पूरा भयो ।”