सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अहिलेसम्म अरू ३० जना नेपाली कायरोको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । दूतावासको अनुरोधमा पोर्ट सुडानमा पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षितरूपमा पुगेका त्यहाँ रहेको नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ ।
सरकारले सुडानमा अझै पनि सुरक्षा अवस्था असहज रहेको भन्दै सबै नेपालीलाई सुरक्षित ठाउँमा रहन र अत्यावश्यक काममाबाहेक बाहिर हिँडडुल नगर्न तथा आपत्कालीन अवस्थामा कायरोको नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । सुडानमा सेना र अर्धसैनिक बलबीच सङ्घर्ष भइरहेकाे छ ।