मकवानपुर । मकवानपुर प्रहरीले मकवानपुरको थाहा नगरपालिकाका वडाध्यक्षलाई सोमबार लागुऔषध गाँजासहित पक्राउ गरेको छ । दुई क्वीन्टल दुई कालो गाँजासहित थाहा नगरपालिका–७, का वडा अध्यक्ष शिवराज थिङलाई घरबाटै पक्राउ गरेको हो ।
वडाध्यक्ष थिङसहित तीन जनाको साथमा दुई क्वीन्टल दुई कालो गाँजासमेत फेला पारि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताउनुभयो । वडाअध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको नेतृत्वमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।