मकवानपु– बागमती प्रदेशका मन्त्रिपरिषदका सदस्य र नेकपा सांसदहरुको दशैभत्ता प्रदेशको कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु तथा नेकपाका तर्फबाट प्रदेश सभा सदस्यहरुको दशैंभत्ता वापत प्राप्तहुने रकम प्रदेश सरकारकै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
आज मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सञ्जालमार्फत देश अहिले कोरोना संक्रमणका कारण महामारीको अवस्थामा रहेको हुनाले कोरोनाको सामना गर्न प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्य र नेकपाका तर्फबाट प्रदेश सभा सदस्यहरुको दशैभत्ता कोरोना कोषमा जम्मा गरिने जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले सन्देशमा लेख्नुभएको छ “देश अहिले कोरोना संक्रमणका कारण महामारीको अवस्थामा छ । यो अवस्थाको सामना हामी सबैले मिलेर गर्नुपर्छ । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले काम गरिरहेको जानकारी गराउन चाहन्छौं । हाम्रा महत्वपूर्ण चाडपर्वहरु शुरु भैसकेका छन्, यसैक्रममा चाडपर्व खर्चकारूपमा आएको बागमती प्रदेशको मन्त्रिपरिषद्का सदस्यहरू र वाग्मती प्रदेशका नेकपाका प्रदेश सभा सदस्यको एक महिनाको रकम वाग्मती प्रदेश कोरोना भाईरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ” ।