काठमाडौं- राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयकमाथि छलफल शुरु भएको छ ।
छलफलमा सांसदहरुले संविधानको साझा सूचीमा सूचिकृत विषयहरुमा कानून बनाउँदा एकले अर्काको अघिकार हस्तक्षेप गर्न नहुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले विधेयकको नाम नै परिवर्तन गर्नुपर्ने, संवैधानिक भाषामा थप शव्द जोड्न नहुने, संविधानसँग बाझिने गरी कानून बन्न नहुने र विधेयक संविधानको कुन धारा अन्तर्गतको हो भनेर थप छलफल गरेर स्पष्ट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
विधेयकमा रहने समन्वय परिषद लगायतका विषयमा थप छलफल हुनु आवश्यक रहेको र विभिन्न प्रदेशमा भएका छलफलमा उठेका विषयलाई विधेयकले सम्बोधन गर्नुपर्नेमा समेत सांसदहरुले जोड दिनुभयो ।