नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशित गर्न सहमति तथा लाभांश स्वीकृति गर्ने कार्यविधि संशोधन गरेको छ । विद्यमान कार्यविधिलाई मंगलबार संशोधन गरेर नेपाल राष्ट्र बैंकले साधारणसभा र लाभांशका बारेमा बैंक तथा वित्तीय संस्थाहरुलाई दिँदै आएको निर्देशनहरुलाई यसमा समेटिएको छ ।

केन्द्रीय बैंकले वार्षिक हिसाब सार्वजानिक गर्ने तथा स्वीकृति प्रदान गर्दा अपनाइने प्रक्रियामा एकरुपता ल्याउन इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धि कार्यविधि २०७७ लागु गरेको हो ।

वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गई भविष्यमा बैंक तथा वित्तीय संस्थाहरुले नोक्सानी व्यहोर्नुपर्ने सम्भावना रहने, कतिपय बैंक तथा वित्तीय संस्थाहरुको जोखिम मूल्याङ्कन एवम् जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली एवम् संस्थागत सुशासनको अवस्था सुदृढ भई नसकेको, तरलताको स्थिति सहज हुँदा पनि पुँजीकोष पर्याप्त नरहेको कारणले कर्जा प्रवाह गर्ने क्षमता समेत प्रभावित हुने तथा कतिपय अवस्थामा कर्जा निरन्तर नवीकरण गरी कर्जा वर्गीकरण समेत प्रभावित हुन सक्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुको पुँजीलाई थप सबल गराई संस्थालाई बढी सुदृढ गराउने गरी लाभांश स्वीकृत गर्ने प्रयोजनको लागि केन्द्रिय बैंकले नयाँ व्यस्था गरेको हो ।