असारे विकासको परिपाटीमा सुधार ल्याउन जिसस प्रमुख खुलाललको सुझाव

मकवानपुर– जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले असारे विकासको परिपाटीमा सुधार ल्याउन सुझाव दिनुभएको छ । चालु आर्थिक वर्षको चौमासिक अनुगमनका क्रममा मंगलबार जिल्लाको मकवानपुरगढी गाउँपालिको अनुगमनका क्रममा उहाँले असारे विकासका कारण समयमै काम सम्पन्न गर्न नसक्दा विभिन्न समस्याहरु आएकाले समयमै योजना कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

जिसस प्रमुख खुलाललले पहिलो चौमासिक योजना कार्यान्वयनका लागि पुर्व तयारीको समय भएकाले यो समयमा लागत स्टीमेट तयार गर्ने, उपभोक्ता समिति गठन गर्ने, सम्झौता गर्ने कार्य पुरा गरेर दोस्रो चौमासिकबाट बजेट कार्यान्वयनमा जान सुझाव दिनुभयो । उहाँले व्यवस्था परिर्वतन भए पनि अवस्था भने अझै परिर्वतन हुन नसकेको भन्दै पहिलेको जस्तै असारे विकासको शैलिलाई परिर्वतन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले विकासको अवधारणा परिर्वतन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले असारे विकास कुरेर बसेकै कारण पनि यो वर्ष धेरै योजनाहरु कोरोना महामारीका कारण सम्पन्न हुन नसकेको भन्दै यसबाट पाठ सिक्दै आगामी वर्ष योजनाहरु समयमै सम्पन्न गर्ने गरि अगाडी बढ्न सुझाव दिनुभयो

प्रमुख खुलालले विकासको अवधारणा परिर्वतन गर्दै भौतक विकास मात्र नभई सामाजिक चेतना बृद्धि गर्ने तर्फ समेत ध्यान दिन समेत सुझाव दिनुभयो । उहाँले सभ्य समाज निर्माणमा ध्यान दिन र बालमैत्री स्थानीय तह निर्माण गर्न समेत आग्रह गर्नुभयो । प्रमुख खुलालले काेराेना भाइरस काेभिड–१९ ले सबै क्षाेत्रलाइ प्रभाव पारेकाले त्यसकाे नियन्त्रण गर्दै कामहरू सुचारू गर्ने तर्फ लाग्न सुझाव दिनुभयाे । उहाँले स्वास्थ्य सुरक्षाको मापदण्डको पुर्ण पालना गरेर जनताको जनजिवन सामान्य बनाउनका लागि योजनावद्ध रुपमा काम गर्न सुझाव दिँदै हाम्रो बानी व्यवहारलाई परिर्वतन गर्दै कोरोनासंग जुध्दै नियमित काम गर्न जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयाे । यस्तै अनुगमन टाेलीले जिससकाे माैजदात काेषकाे रकमबाट सञ्चालित याेजनाका बारेमा समेत जानकारी लिएकाे थियाे । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले बालमैत्री स्थानीय तह घाेषणा गर्ने कुरा जिल्ला सभाबाटै पारित गरिएको र प्रदेश सरकारले समेत बालमैत्री प्रदेश निर्माण गर्ने लक्ष्य लिएको भन्दै बालमैत्रीका ३९ वटा सुचिहरु पुरा गर्ने तर्फ लाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदर हुमागाईले जिल्ला समन्वय समितिबाट नियमित अनुगनका लागि आग्रह गर्नुभयो । उहाँले नियमित अनुगमनले स्थानीय तहलाई पृष्टपोषण पाईने हुँदा यसको निरन्तरताकालागि आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले संतुलित विकासको अवधारणा अनुसार भौतिक, सामाजिक र आर्थिक विकासमा सक्दो ध्यान दिएर दिगो विकास र सुशासन सहितको समृद्धि प्राप्त गर्ने गरि काम गरेको समेत बताउनुभयो । उहाँले असारे विकासको अन्त्य गर्न यो वर्ष चैत्र महिनासम्म सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना बनाएको बताउनुभयो । अध्यक्ष हुमागाईले विभिन्न समस्याहरुका विषयमा मकवानपुरका स्थानीय तहहरुले साझा धारणा बनाएर जानु पर्ने र यसमा जिससलाई सहजिकरण गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले चालु आर्थिक वर्षका लागि ६८ करोड २६ लाख ६३ हजार बजेट विनियोजित भएकोमा हाल सम्म करीब १० प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षका लागि समयमै बजेट खर्च गर्नका लागि उपभोक्ता समिति गठन गरेर सम्झौताको क्रम समेत सुरु भइसकेकोले समयमै बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर ३ र ४ का वडाअध्यक्षले गाउँपालिकामा भौगोलीक विकटताका कारण खानेपानीको समस्या रहेको, गाउँबाट बसाईसराई गर्नेलगायतका समस्या रहेको बताउनुभयो । यसका लागि गाउँपालिकाले व्यवस्थित कार्ययोजनाका साथ काम गरेको समेत उहाँहरुले बताउनुभयो । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, सिता अधिकारी, हेटाैंडा उपमहानगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष लक्षमण प्रसाद भण्डारीलगायतको सहभागिता थियो ।